साँघुरो बागलुङ बजार । त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ । बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ । त्यसको कारण हो जथाभावी रुपमा स्कूल बस चल्नु । बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्डविपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन् । मापदण्डविपरीत सिट क्षमताभन्दा बढी चढाउँदा बालबालिकाले सास्तीसमेत भोगेका छन् । ‘स्कुल बस निर्देशिका २०७४’ ल्याएको पाँच वर्ष बितिसक्दा पनि बागलुङमा कार्यान्वयन हुनसकेको छैन । विद्यालयले निर्देशिकाका सामान्य नियम पनि मान्दैनन् । कार्यान्वयन गराउने प्रहरी र प्रशासन मुकदर्शक छन् । जिल्लाका ५९ निजी विद्यालयमध्ये अधिकांशमा विद्यालय बस छन् । कसैले पनि निर्देशिका पालना गरेको पाइँदैन । त्यसले ट्राफिक व्यवस्थालाई भद्रगोल बनाइ दिएको छ । स्थानीय दयाराम पौडेलले विद्यालयले बस सञ्चालन गर्दा निश्चित् ठाउँ तोक्ने र सोही स्थानबाट विद्यार्थी चढाउने तथा झार्ने गरे बजारमा दुर्घटना जोखिम कम हुने र ट्राफिक व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले साँघुरो बजारमा दजनौँ स्कुल बस जथाभावि रुपमा चलाउँदा व्यवसायी पनि समस्यामा पर्ने गरेको बताउनुभयो ।
