७९ पौष १० काठमाडौ ।

बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको यो संरचना धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध (ड्याम) अन्तिम चरणमा पुगेको छ । ड्यामको भौतिक संरचना निर्माण पूरा भई परीक्षणको चरणमा पुगेको छ । हाल ड्यामको सुरक्षा एवं संहारमा खटिनेका लागि संरचना निर्माण भइरहेको छ । हिन्दू सभ्यताको जननी बागमतीको प्रमुख सहायक नदी नागमतीको शिरमा निर्माण गरिएको धाप ड्यामले यस क्षेत्रको ‘जीव भू–रासायनिक चक्र’को प्रवद्र्धनका साथै बागमती नदी प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भए पनि पछिल्ला वर्षमा निर्माण कार्यले मूर्तरुप लिएको छ । आयोजना कार्यान्वयन इकाइका प्रमुख कृष्णप्रसाद रिजालले धाप ड्यामको भौतिक कार्य पूरा भएको बताउनुहुन्छ । उहाँका अनुसार ड्यामको सुरक्षा एवं संहारका लागि आवश्यकपर्ने संरचना बनिरहेको छ । मौसम एवं पानीको तहको मापनका लागि आवश्यकपर्ने प्राविधिक काम भइरहेको रिजालको भनाइ छ ।