तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ । यही पुस ८ गतेदेखि लागू हुने गरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत विनोदकुमार शाह र शम्भु पौडेल, नेपाल रेडक्रस सोसाइटीका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र लेखा अधिकृत शम्भु निरौलाले पनि हस्ताक्षर गर्नुभएको छ । नगरपालिका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्त सञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने उद्देश्यले सो सम्झौता गरिएको तारकेश्वर नगर पालिकाका प्रमुख महर्जनले जानकारी दिनुभयो ।