सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ । सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणले समयमै किसानले मल ल्याउन नसक्दा बालीनालीमा प्रत्यक्ष समस्या परेको जनाउँदै यहाँको बागलुङ नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढङ्गले मूल्य निर्धारणका लागि समन्वयसमेत गरेको छ । बागलुङ नगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण शाखाबीच मल आपूर्तिलाई सहज बनाउँदै वितरण मूल्यलाई वैज्ञानिक ढङ्गले कार्यान्वयन गर्ने गरी सहमति गरेको छ । नगरपालिकाभित्रका किसानलाई महलको सहज आपूर्ति गराउँदै उचित मूल्यमा सरकारले अनुदानमा दिएको रासायनिक मल दिने गरी सहमति भएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा अनुदानमा रासायनिक मल व्यवस्थापनका लागि बनेको स्थानीय समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो । “किसानले मलको सहज आपूर्ति नहुँदा समस्या भोग्नुपरेको छ, मूल्यमा समेत एकरुपता नहुँदा किसान मर्कामै परेका छन्, यस विषयमा मलको मागअनुसार समयमै मल आपूर्ति गर्ने र मूल्य निर्धारणलाई एकरुपता गराउने गरी सहमति भएको छ, साल्ट ट्रेडिङ कर्पोरेशनबाट खरिद गरेको मल व्यापारीले नगरपालिकाले स्थानअनुसार तोकेको वैज्ञानिक मूल्यमा मात्रै बिक्री गर्न पाउनेछन्”, उहाँले भन्नुभयो, “युरिया, डिएपी र पोटास मलको नगरपालिकाको वडाअनुसार ढुवानी खर्चका आधारमा मूल्य निर्धारण गरिएको छ, यसकारण किसानले सही समय र मूल्यमा मल पाउनेछन् ।”