दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षहरुमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउनुहुन्छ । “अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ”, तिम्सिना बताउनुहुन्छ । ठूलो सिलसिले हाँसजस्तै अन्य थुप्रै चरा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउन छाडिसकेका छन् । प्रजातिका हिसाबले प्रतिनिधिमूलक उपस्थिति रहे तापनि सङ्ख्यात्मक हिसाबले बाह््य पर्यटक चराको उपस्थिति घट्नुले चिन्तित बनाएको तिम्सिना बताउनुहुन्छ । राज्यका स्थानीय तहले जैविक विविधता महत्वपूर्ण पाटो हो भन्ने बुझेर काम गरिदिन जरुरी रहेको तिम्सिना बताउनुहुन्छ ।