पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् । उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक (मार्केटिङ सेल्स डाइरेक्टर) रुपेश जोशीले नवनिर्मित विमानस्थल पूर्णरूपमा उडानयोग्य भएको बताउँदै आगामी जनवरी १ देखि यही विमानस्थलबाट उडान हुने जानकारी दिनुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले आगामी दिनमा हवाई उडान अझै बढी सुविधामय बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको रात्रि बिसाउनी पनि गर्ने बताउँदै उहाँले पोखराबाट भारतको वाराणसीलाई जोड्नका लागि सम्बन्धित ठाउँहरूमा पत्राचार गरिसकिएको जानकारी दिनुभयो । अनुमति पाएका अवस्थामा दिल्ली, देहरादुन र अन्य भारतीय गन्तव्यमा उडान गर्ने बुद्धको तयारी छ ।