स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ । तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताउनुभयो । “तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ”, उहाँले भन्नुभयो, “दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।” प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आउनुभएको छ । अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उहाँले बताउनुभयो । “विद्यालयमा अध्ययनका लागि आउने सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह–समूह बनाएर पढाउने गरेको छु”, हमालले भन्नुभयो, “यसरी कति दिनसम्म चलाउने होला ? सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन ।”