भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घसंस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि सो संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन् । भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाई र निर्माण सामग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपविरुद्ध उजुरी गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उजुरी दर्ता गर्दा श्रेष्ठले छानामा परेको प्वाल, सोसम्बन्धी सञ्चारमाध्यममा प्रकाशित समाचारकपी र अन्य कागजातसमेत संलग्न गर्नुभएको छ । गत साउनमा उक्त विद्यालयमा भ्वाङ परेको समाचार प्रकाशित थियो । यो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको हो । यो भवनमा युपिभिसी जस्तापाताले छाना छाइएको छ । छानामा प्वालैप्वाल परेकाले विद्यार्थी राखेर पढाउनसमेत नसकी बर्सातमा बालबालिकालाई एकै स्थानमा दुईदुईवटा कक्षा सञ्चालन गर्नुपरेको थियो ।