नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताउनुभयो । यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आइएमइ समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब रु एक अर्ब ५० करोडको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ । केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । स्थानीयले कम्तीमा रु ५० हजारदेखि बढीमा रु पाँच लाखसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ ।