शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताउनुभयो । “चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरिरहेका छौँ”, मन्त्री साहले भन्नुभयो, “चिसोबाट प्रभावितलाई कम्बल वितरणको तयारी थालेका छौँ, स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाइनेछ ।” यसबाहेक प्रदेश सरकारले चिसोबाट जोगिन सन्देशमूलक सूचनासमेत प्रचारप्रसार गर्दै आएको मन्त्री साहको कथन थियो । यस वर्ष चिसोको कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको कामसमेत अघि बढाउन समन्वय भइरहेको उहाँले बताउनुभयो । “शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौँ”, मन्त्री साहले भन्नुभयो, “चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।” विगतमा जाडो बढेपछि चोकचोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताउनुभयो ।