डोटीका स्थानीय सरकारले कृषि क्षेत्रलाई आयमूलक व्यावसायिक रुपमा विकास गर्दै बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने योजना ल्याएका छन् । दिपायल सिलगढी नगरपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा राखेको छ भने जोरायल, बडीकेदार, सायल र बोगटान फुड्सिल गाउँपालिकाले तरकारी खेतीको विशेष योजना बनाइ कार्यान्वयनमा ल्याएका छन् । स्थानीय सरकारले कृषिमा दक्षता बढाउन वास्तविक कृषकलाई अनुदानको व्यवस्था गर्ने र अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने घोषणा गर्दै आएका छन् । दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रलाई कृषि पकड क्षेत्र बनाउने अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०७९÷८० को पशुसेवा शाखा र कृषि शाखाको शसर्त तथा निशर्त कार्यक्रमअनुसार वडा नम्बर १, २, ३ मा लागू हुने गरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । नगरलाई नमूना कृषि पकड क्षेत्र बनाउने अवधारणाका साथ चालु आवको कार्यक्रम ती वडामा तरकारी खेतीसँगै ग्रामीण कुखुरा प्रवद्र्धन तथा वितरण, घाँसको स्रोत र केन्द्र स्थापना, क्रस बोयर बोका वितरण, माछापालन अनुदान र नयाँ बाख्रा पकेट विकास कार्यक्रम ल्याइएको मेयर बाजिसिंह खड्का (विजय) ले बताउनुभयो । क्रमिक रुपमा अन्य वडामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने मेयर खड्काले जानकारी दिनुभयो ।