जिल्लामा रहेका आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला सदरमुकाममा रहेको र स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिएको हो । सबै केन्द्रका समन्वयात्मक बैठक तथा विपद्जन्य पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्रलाई प्रभावकारी र क्रियाशील बनाउन निर्देशन दिनुभएको छ । “स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्र प्रभावकारी र सक्रिय बनाउनुस्, तत्काल विपद्जन्य घटनामा उद्धार, सहयोग र राहत तथा अनुदान उपलब्ध गराउन सक्नुपर्छ”, उहाँले भन्नुभयो । सोमबार भएको कार्यक्रममा जिल्लास्थित १३ स्थानीय तहका सरोकारवाला तथा स्थानीयस्तरका गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी थिए । प्रजिअ पाण्डेका अनुसार मनसुनजन्य, आगलागीजन्य, निजी आवास पुनःनिर्माण र पुनःस्थापना अनुदानमा प्राविधिक, आर्थिक र भौतिक सहयोगका लागि स्थानीय सञ्चालन केन्द्र प्रमुख जिम्मेवार रहन्छ । साथै स्थानीय सञ्चालन केन्द्रबाट सिफारिस नहुँदासम्म विपद्जन्य घटनामा राहत तथा अनुदान उपलब्ध गर्न सकिँदैन । यस्तै जिल्लामा हुने विपद्सम्बन्धी सूचना सङ्कलन गरी दैनिक केन्द्रीय आपत्कालीन केन्द्रमा पठाउने गरिएको छ ।