“रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको । राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा उहाँले आफ्नो कुवेत बसाइँको अनुभव सुनाउनुभयो । उहाँले घरेलु कामदारका रुपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको बताउनुभयो । “सीप नभए पनि घरेलु कामदारका रूपमा विदेश गएर महिलाले घरपरिवार चलाएका छन्”, उहाँले भन्नुभयो, “घरेलु कामदारलाई वैधता दिएर सुरक्षित बनाउन सरकारसँग आग्रह गर्छु ।” वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रस पुगेर गत वैशाखमा फर्किनुभएकी भद्रपुर–६ की सपना रायले आफू म्यानपावर कम्पनीबाट ठगिए पनि न्याय नपाएको बताउनुभयो । “श्रम मन्त्रालय जाँदा आश्वासनमात्र पाएँ, पटक–पटक आउनु भन्छन्, पटक–पटक जाने अवस्था छैन”, उहाँले भन्नुभयो, “पैसा माग्दा म्यानपावरको मान्छेले गाली गर्छ ।” किताबमा मात्र नियम–कानुन भएको तर व्यवहारमा नभएको भन्दै उहाँले पीडितले न्याय पाउन साह्रै कठिन भएको अनुभव सुनाउनुभयो । “नियमनकारी निकायमा जाँदा कर्मचारीले मलाई सोधेर गएको थिइस् भन्छन्”, उहाँले भन्नुभयो, “कोही पनि रहरले विदेश जाँदैन, सबैको आ–आफ्नो बाध्यता र विवशता हुन्छ ।”