अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाँैदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट उम्मेदवारी रहे पनि जित भने हासिल गर्न सकेनन् । त्यसैगरी राजनीतिक दलले आफ्नो समानुपातिक कोटामा पनि प्रतिनिधि र प्रदेशसभामा राना थारु समुदायलाई नसमेटेपछि उनीहरुको उपस्थिति शून्य बनेको हो । विसं २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचन जितेर केन्द्रमा आफ्नो उपस्थिति जनाएका एमाले नेता नारदमुनि राना यसपटक भने नेपाली कांग्रेसका उम्मेदवारसित पराजित हुन पुग्नुभयो । कञ्चनपुरमा पनि विगतमा नेकपा (एमाले)बाट समानुपातिक सांसद भइसक्नुभएका कृपाराम रानादेखि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नेता बन्धु रानासम्म प्रदेशसभा सदस्यका उम्मेदवार भए पनि पराजित हुनुभयो ।
