दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो । शिविरमा उपचारका लागि आएका जटिल किसिमका बिरामीलाई विभिन्न प्रकारका औषधि निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ । पाथेकाका स्थानीय बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा वडा नं ११ खार्मीका सेवाग्राहीले समेत सेवा लिएका छन् । नगरपालिकाले वडामै एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि दुई वडाका सेवाग्राही लाभान्वित भएका छन् । अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले एकीकृत घुम्ती शिविरमार्फत आफ्नै गाउँ÷ठाउँमा सहजरुपले आवश्यक सेवा लिन पाएपछि लाभान्वित भएका हुन् ।