कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो । वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक प¥यो । उहाँले वडा कार्यालयमा अधयक्ष रवीन्द्रप्रसाद देवकोटालाई खोज्नुभयो । हिरादेवीले वडा अध्यक्षलाई भेट्नु भएन । अनि त्यहाँका अन्य कर्मचारीसँग वडाध्यक्षका बारेमा सोधीखोजी गर्नुभयो । अध्यक्ष भगतपुर क्षेत्रमा रहेको उहाँले थाहा पाएपछि अटो चढेर त्यही जानुभयो । “अध्यक्ष ज्यू सडकमा कुर्सी राखेर एउटा फाइल समातेर बस्नु भएको थियो, त्यहीँ मैले सिफारिस पत्रमा हस्ताक्षर गराए”, हिरादेवीले भन्नुभयो । कटानकी पुष्पादेवी ऐरीलाई पनि छोरीको छात्रवृत्तिको लागि सिफारिस बनाउनु थियो । उहाँले पनि वडा कार्यालयभन्दा पर अध्यक्ष भएको ठाउँमै पुगेर सेवा लिनुभयो । केही दिन यता भीमदत्त नगरपालिका–१८ को सेवा यसै गरेर सडकबाटै सम्पादन गर्ने गर्नुभएको छ, अध्यक्ष देवकोटाले । भीमदत्त नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्नामा बस्नुभएको हो । उहाँ कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहनुभएको छ । “सडकमा बेस हाल्ने काम भइसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “थोरै मात्रै बजेट छुट्याइएको छ, त्यसैले बजेटको माग गर्दै दबाब स्वरुप धर्ना बसेको हो ।”