नेपाल प्रहरीले नवौँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गर्नुभएको हो । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गरेकै कारण सङ्गठनको गरिमा उँच्चो हुँदै आएको बताउनुभयो । प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उच्च प्रशंसा गर्नुभयो । उहाँले खेलाडीले सफलता पछाडिको सङ्घर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । आफूभित्रको सम्भावनालाई निखार्दै अझ सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गरी व्यक्तिगत उपलब्धिका साथै सङ्गठनको श्रीवृद्धि, वृहत्तर हित र संस्थागत विकासमा योगदान दिन खेलाडीलाई उहाँले आग्रह गर्नुभयो ।