जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा एक किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो । जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी करिडोर) सडक कालोपत्रका लागि रु दुई करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । कुश्मीसेरादेखि जैमिनीधामसम्मको तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो । तीन वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो । सडकको स्तरोन्नति र एक किलोमिटर सडक कालोपत्रका लागि यसअघि रु आठ करोडको लागत अनुमान गरिएको थियो । पहिला दुई वर्षमा रु एक करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष रु दुई करोड ७० लाख खर्च भएको थियो । कोरोना महामारी, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो । सङ्घीय सरकारले एउटै योजनामा तीन वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताउनुभयो ।