चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु पनि देख्न मुस्किल हुन्छ । ती जिल्लाका ग्रामीण बस्तीमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र भेटिन्छन् । चिसो याममा अचानक गाउँमा केही त्यस्ता केही घटना परिहाले भने उनीहरुले ठूलो समस्या भोग्नुपर्दछ । माथिल्लो कर्णालीका कालीकोट, हुम्ला, मुगु, डोल्पा र जाजरकोटका युवा तथा जाँगरिला सबै पुरुषहरु पैसा कमाउन बाहिरिएका छन् । सामान्यतः वर्षैपिच्छे कात्तिक महिनादेखि मजदूरीका लागि घर छोड्ने युवा यो वर्ष चुनावका कारण अलि ढिला विदेशिएका छन् । चुनावअघि युवालाई विदेसिन दिने छैनौँ भन्ने चर्का भाषणहरु सबै दलका उम्मेदवार गरे । उनीहरुलाई ती उम्मेदवारहरुले केही आशावादी पनि बनाए । केही हुन्छ भन्ने आशामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुसङ्ख्यक युवाहरुले भोट पनि हाले । भनेजस्तो तुरुन्तै केही हुन सम्भव थिएन ।