कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे । अहिले त्यस्तो समय छैन । माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले बिस्थापित गरेका छन् । बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समूदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ । बजारमा प्लास्ष्टिकका भाँडा बढ्न थालेपछि रेशम कुमालले तीन महिनाअघि तयार पारेका माटोका भाँडा घरको पिँढीमा थन्किएका छन् । “यी अहिले बिक्री हुन नसकेका भाँडा हुन्”, उहाँले भन्नुभयो, “घरभित्र राख्ने ठाउँ पनि छैन पानीले भिजायो भने मेहनत खेर जान्छ ।” बजारमा प्लास्टिकका आयातित सामान सहजै पाउन थालेपछि आफूहरुले बनाएका माटोका भाँडा बिक्न छाडेको दाङ गढवा–५ का धनराज कुमालले गुनासो गर्नुभयो । लामो समयदेखि माटोका भाँडा बनाएर जीविका चलाउँदै आउनुभएका उहाँले भाँडा बिक्न छोडेपछि घर खर्च चलाउनै समस्या भएको बताउनुभयो । यस क्षेत्रमा कुमाल समुदायका करिब दुई सय घरधुरी छन् । जसको मुख्य पेसा नै माटोका भाँडा बनाउनु हो । माटोका भाँडाको तुलनामा प्लास्टिकका भाँडा सस्तो र टिकाउन हुने भएकाले प्रयोग बढ्न थालेको हो ।