लेकसाइडस्थित होटल तथा रेस्टुरेन्टलाई सूचकाङ्कका आधारमा स्तरीकरणको ‘लोगो’ वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेस्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण थालनी गरेको हो । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) र होटल एशोसिएशन नेपाल (हान) सहकार्यमा पोखराका १४ रिसोर्ट, होटल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्याङ्कन गरिएको हो । एउटा सूचकलाई दुई नम्बर दिएर मूल्याङ्कन गर्दा ९० भन्दामाथि अङ्क ल्याउने होटलमा अति उत्तम (थ्री स्टारसहितको हरियो), ८०–८९ अङ्क ल्याउने उत्तम (टु स्टारसहितको हरियो), ६५–८९ अङ्क ल्याउने सन्तोषजनक (वान स्टारसहित हरियो) र ५०–६४ अङ्क ल्याउनेलाई सामान्य (पहेँलो) लोगो टाँसिने कुँवरले जानकारी दिनुभयो ।