पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनःलाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ । आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले तालिमबाट होमस्टे व्यवस्थापनमा सुधार हुने र सञ्चालकहरूको क्षमतामा समेत वृद्धि हुने जानकारी दिनुभयो । तालिमबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्ने विश्वास लिइएको छ । यही मङ्सिर १९ गते सोमबारबाट सञ्चालन गरिएको तालिममा ४० सहभागी छन् । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारीले पर्यटकलाई राम्रो सत्कार गर्न सके पाँचपोखरी पर्यटनका माध्यमबाटै समृद्ध हुने बताउनुभयो ।