एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभाका दुईवटा क्षेत्रअन्तर्गत १(१) मा स्वतन्त्र उम्मेदवार र २ (२) मा एमालेका उम्मेदवार विजयी भएका छन् । राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाह) विजयी हुनुभएको हो । उहाँले सत्ता गठबन्धनका उम्मेदवार गोमा गौमत (कुँवर) लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गर्नुभयो । शाहीले २२ हजार आठ सय १९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गौतमले ११ हजार नौ सय ५९ मत आएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गर्नुभयो । त्यस्तै नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले बताउनुभयो । जिल्लाको कूल ६८ हजार ६ सय ३८ मतदातामध्ये जम्मा खसेको ४५ हजार दुई सय ८४ मत थियो । खसेको कूल मतमध्ये दुई हजार चार सय ७८ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाईले सात हजार आठ सय २६ मतले निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास बाहलवाला मन्त्री पदमबहादुर रोकायाले छ हजार सात सय १५ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गर्नुभएको छ ।