साउन १६ नेपाल ।
नेपाल आयल निगम लिमिटेडले बजारमा ग्यास अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले ग्यासको आपूर्ति नियमित रहेको र उपभोक्तालाई चिन्ता नलिन आग्रह गरेको छ।
निगमले मिति २०८३/०३/३१ को निर्णय अनुसार १४.२ केजी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाएको छ। सोही अनुसार दैनिक रूपमा माग अनुसारको ग्यासको आपूर्ति भइरहेको निगमको भनाइ छ।
१४.२ केजीको ग्यास सिलिन्डरको बिक्री वितरण सुरु भएपछि बजारमा सहज आपूर्तिको लागि सबै ग्यास उद्योगहरूलाई व्यवस्था मिलाउन अनुरोध गरिएको छ। साथै बिक्रेताहरूलाई घरयसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित तरिकाले बिक्री वितरण गर्न निर्देशन दिइएको छ।
काठमाडौं उपत्यकामा बढिरहेको मागलाई मध्यनजर गर्दै निगमले मिति २०८३/०४/१६ गते शनिबारदेखि निगमको टेकुस्थित कार्यालयबाट समेत नेपाल ग्यास, एभिपि ग्यास, एभरेष्ट ग्यास, सृजना ग्यास तथा श्रीराम ग्यासको सिलिन्डरहरू बिहान ११:०० देखि बेलुका ५:०० सम्म सम्बन्धित उद्योग मार्फत बिक्री-वितरण गर्ने व्यवस्था मिलाएको छ।
ग्यास नपाएको अवस्थामा निगमको हटलाइन नं. ०१-४१७१०२ मा कार्यालय समयभित्र सम्पर्क गर्न पनि निगमले अनुरोध गरेको छ।
निगमले एल.पि.ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेकोले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरेको छ।

