साउन १६ नेपाल ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुनसरी र सिरहासहित तराई-मधेसमा भएको हिंसात्मक घटनाको उच्चस्तरीय छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीले परिस्थितिको राजनीतिक समाधान खोज्न सबै पक्षसँग संवादमा जान पनि सरकारलाई आग्रह गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता र सहसंयोजक माधव कुमार नेपालको सञ्चालनमा आज पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा पार्टीले सुनसरी र सिरहामा भएको झडपमा ३ जनाको मृत्यु र ठुलो संख्यामा मानिस घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेकपाले घटनाको यथार्थ सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानविन आयोग गठन गर्न माग गरेको छ। झडपका कारण, भड्काउने तत्व र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने पार्टीको धारणा छ।

पार्टीले नेपाली समाज धार्मिक, सामाजिक र सांस्कृतिक सहिष्णुताको आधारमा उभिएको भन्दै हाल देखिएको तनावलाई साम्य बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सामाजिक क्षेत्रको साझा पहल प्रशंसनीय भएको बताएको छ।

यसैगरी नेकपाले सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर केवल प्रशासनिक र शक्तिको प्रयोगबाट समाधान खोज्न नहुने बताएको छ। बरु राजनीतिक रूपमा नागरिकसँग संवाद गर्ने, सबै सरोकारवालालाई विश्वासमा लिन र दिगो समाधानका लागि जिम्मेवार भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ।

विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानले दिएका उपलब्धिलाई कमजोर पार्ने गरी सामाजिक द्वन्द्व भड्काउने र विभाजनकारी गतिविधिप्रति सचेत रहन पनि पार्टीले सबै नेपालीमा आह्वान गरेको छ।

अन्त्यमा नेकपाले तराई-मधेसमा उत्पन्न परिस्थितिलाई देश र जनताको हितअनुरूप समाधान गर्नुपर्ने भन्दै सरकार, राजनीतिक दल र सम्पूर्ण नेपालीलाई आपसी विश्वास, संयम र निरन्तर संवादका साथ अघि बढ्न अपिल गरेको छ।