साउन १५ नेपाल ।

आज काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको थियो।

बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले तराई-मधेसमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीले विभिन्न घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

यसै क्रममा धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको पनि राप्रपाले कडा निन्दा गरेको छ।

राप्रपाको भनाइ छ, “हिंसा, साम्प्रदायिक विद्वेष र धार्मिक असहिष्णुता सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको छ।”

पार्टीले समस्याको समाधान दमन र गोली प्रहारबाट नभई संवाद, सहिष्णुता र विधिको शासनबाट हुनुपर्ने बताएको छ। त्यसैले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गरेको छ।

विशेषगरी हिन्दु चाडपर्वका बेला तराई-मधेसमा पटक-पटक तनाव दोहोरिने गरेकोप्रति ध्यानाकर्षण गर्दै, यसको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता दिन सरकारले सर्वपक्षीय समिति बनाउनुपर्ने राप्रपाको सुझाव छ।

यसैबीच राप्रपाले २०६२/६३ को राजनीतिक परिवर्तनपश्चात राज्यले अवलम्बन गरेको वैचारिक तथा संवैधानिक मार्गचित्रको अब गम्भीर राष्ट्रिय समीक्षा गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ।

पार्टीको ठहर छ, “राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र भावनात्मक एकतालाई महत्व नदिई ल्याइएका संविधान र कानुनले अपेक्षित राष्ट्रिय एकता सुदृढ गर्न सकेनन्।”

राप्रपाले आफ्नो वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको एजेन्डा कसैको अधिकार सीमित गर्ने नभई, नेपालको ऐतिहासिक पहिचान र सबै नागरिकको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने राष्ट्रिय अवधारणा भएको स्पष्ट पारेको छ। “पछिल्लो दुई दशकको अभ्यासले हिन्दुराष्ट्र नेपालको आवश्यकता प्रमाणित गरेको छ” भन्दै पार्टीले यसबारे बहस सुरु गर्न सबैमा आह्वान गरेको छ।

अन्त्यमा पार्टीले सम्पूर्ण नेपालीलाई संयम, विवेक, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन हार्दिक अपील गरेको छ।