साउन १५ नेपाल ।

गत साउन १० गते देवानगञ्ज गाउँपालिका-३, कसनगञ्जमा भएको दुःखद् घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ।

२०८३ साउन १४ गते भएको सहमति पत्रमा गृह मन्त्री सुधन किराँती र पीडित परिवारका तर्फबाट मृतक जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।

सहमतिका मुख्य बुँदाहरू:

१. राहत र शहीद घोषणा
सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र प्रत्येक परिवारलाई रु. १०,०,०/- दश लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

२. निष्पक्ष छानबिन र कारबाही
साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने।

३. रोजगारी र स्मृति पार्क
प्रत्येक मृतकको परिवारको एक जना योग्य सदस्यलाई रोजगारीको अवसर दिने। साथै मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने।

४. अन्य मागहरू
देवानगञ्ज-३ मा रहेको मदरसाको कानूनी हैसियतबारे छानबिन सुरु गर्ने र घटनाको अध्ययनका लागि गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझावहरू यथाशिघ्र कार्यान्वयन गर्ने सहमति पनि भएको छ।

अन्तिम संस्कारको मिति तोकियो
सहमतिपछि मृतकहरूको अन्तिम संस्कार २०८३।०४।१५ गते दिउँसो २:०० बजे गर्ने निर्णय पनि भएको छ।

यो सहमतिसँगै देवानगञ्जमा तनाव केही मत्थर हुने अपेक्षा गरिएको छ।