साउन १५ नेपाल ।

धनुषा जिल्लामा जारी कर्फ्यूका कारण आम सर्वसाधारणलाई दैनिक उपभोगका सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले प्रशासनले बिहान २ घण्टा आंशिक छुट दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले शुक्रबार, २०८३ साउन १५ गते एक सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन्।

कर्फ्यू र आंशिक छुटको समय
मिति २०८३।०४।१४ गते जारी भएको कर्फ्यू आदेश निरन्तर रहेको छ। त्यसैलाई सहज बनाउन २०८३।०४।१५ गते बिहान ६:०० बजेदेखि ८:० बजेसम्म आंशिक रूपमा कर्फ्यू खोलिएको छ।

यस अवधिमा सर्वसाधारणले दुध, तरकारी, फलफूल, खाद्यान्न लगायतका अत्यावश्यक वस्तु मात्र खरिद गर्न पाउनेछन्। तोकिएको समयभित्र सामान खरिद गरी आ-आफ्नो निवास फर्कन प्रशासनले सबैलाई अनुरोध गरेको छ।

कर्फ्यू अवधिमा खुला रहने अत्यावश्यक सेवा
प्रशासनका अनुसार कर्फ्यूको समयमा पनि निम्न सेवाहरू सञ्चालन हुनेछन्:
• अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल
• हवाई सेवा, ग्याँस आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री
• पानी तथा दुध बोकेका सवारी, सञ्चार सेवा

त्यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी र एयरपोर्ट जाने/फर्कने यात्रु ले परिचय पत्र बोकेर आवतजावत गर्न पाउनेछन्।
कर्फ्यूको पूर्ण पालना गर्न प्रशासनले सबै धनुषावासीमा अपिल गरेको छ।