साउन १३ नेपाल ।

सुनसरी जिल्लाको कप्तानगञ्ज लगायतका क्षेत्रमा साउन १० गते र त्यसपछि भएका घटनाप्रति नेपाल बार एशोसिएसन, मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

बारले आज जारी गरेको विज्ञप्तिमा घटनालाई धार्मिक सहिष्णुताको विपरीत हुन नदिन र कुनै पनि धार्मिक संस्थाको नाममा अति गरिन नदिन नेपाल सरकारसँग आग्रह गरेको छ।

बारका मुख्य माग र धारणा:
• जीवन रक्षाको माग: घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न माग
• छानबिनको माग: गोली चल्नुपर्ने अवस्था थियो या थिएन, कसको गोलीले के कसरी मृत्यु भयो भन्ने बारेमा सरकारले यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने
• शान्ति र सद्भाव: धार्मिक यात्रा र पर्वहरु सौहार्दपूर्ण रुपमा मनाउन पाउने संवैधानिक अधिकारको सबैले सम्मान गर्नुपर्ने
• राजनीतिकरण नगर्न आग्रह: सामान्य घटनालाई अतिरञ्जित बनाई राजनीतिक आवरण दिने र दोषी उम्कने वातावरण बनाउन नहुने

बारले विज्ञप्तिमा विधिको शासन, संवैधानिक सर्वोच्चता र नागरिकका धार्मिक, सामाजिक अधिकारको पक्षमा आफू सधैं रहेको जनाएको छ। साथै मानव अधिकारको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाएर शान्ति कायम गर्न पनि आग्रह गरेको छ।

विज्ञप्तिमा बारका सदस्य सचिव अधिवक्ता किरण न्यौपाने र सह संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरेको हस्ताक्षर छ।