साउन ६ नेपाल ।
सिद्धज्योति शिक्षा क्याम्पस, कमलामाई नगरपालिका-५, फोश्रेटार, सिन्धुलीले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवा आपूर्तिका लागि इच्छुक फर्म, कम्पनी र आपूर्तिकर्ताहरूको सूचीकरण गर्न सूचना प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र यूजिसी नेपालबाट क्यूएए प्रमाणित यस क्याम्पसले मिति २०८३ साउन ६ गते सूचना प्रकाशित गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित कागजातसहित दरखास्त पेश गर्न आग्रह गरेको छ ।
क्याम्पसले स्टेसनरी, विद्युतीय सामग्री, कम्प्युटर तथा उपकरण, पाठ्यपुस्तक, भौतिक निर्माण, फर्निचर, वेब पेज डिजाइनिङ, सवारी साधन भाडा, खाना-खाजा, स्वास्थ्य तथा सरसफाइ, परामर्श सेवा लगायतका १३ वटा शीर्षकमा सामान खरिद, मर्मत सम्भार र सेवा आपूर्तिका लागि सूचीकृत गर्न चाहेको हो ।
इच्छुक आपूर्तिकर्ताले कामको छुट्टाछुट्टै विवरणसहितको शिलबन्दी दरखास्त, कम्पनी/फर्म दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा भ्याट दर्ता प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्रसहित क्याम्पसको दर्ता शाखामा बुझाउनुपर्नेछ ।
क्याम्पस प्रमुख डा. नानीबाबु घिमिरेद्वारा जारी सूचनामा तोकिएको समयभित्र प्राप्त नभएका दरखास्तहरू उपर कुनै कारबाही नहुने जनाइएको छ ।

