असार २९ नेपाल ।
नेपाल निर्माण व्यवसायी महासंघ FCAN ले आ.व. २०८३/०८४ को लागि निर्माण व्यवसायी इजाजत-पत्र नवीकरणको काम मिति २०८३ श्रावण १ गतेदेखि सुरु हुने जानकारी गराएको छ।
महासंघका महासचिव शिवहरी घिमिरेले मिति २०८३/०३/१९ मा सबै जिल्ला निर्माण व्यवसायी संघलाई पत्र पठाउँदै यसबारे जानकारी गराएका हुन्।
नवीकरणका लागि के-के चाहिन्छ?
पत्र अनुसार नवीकरण गर्दा सबै सदस्यले महासंघबाट सिफारिस लिनुपर्नेछ।
१. क, ख, ग वर्ग:
पूर्वाधार विकास मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखा, बबरमहलमा नवीकरण गर्न महासंघको सिफारिस अनिवार्य। सिफारिसका लागि प्रदेश महासंघ/जिल्ला संघ मार्फत आवेदन दिनुपर्नेछ।
२. घ वर्ग:
सम्बन्धित स्थानीय तहमा नवीकरण गर्ने र त्यहाँको सिफारिस सम्बन्धित जिल्ला संघबाट लिनुपर्नेछ।
नियम: निर्माण व्यवसाय नियमावली, २०५६ को नियम ७ को उपनियम २ र ४ को अनुसूची-५ को खण्ड ५ बमोजिम यो व्यवस्था गरिएको हो।
महत्वपूर्ण कुरा
१. अनलाइन प्रणाली: क, ख र ग वर्गको नवीकरण अब Contractors Information Management System – CIMS सफ्टवेयरबाटै हुनेछ।
२. चेतावनी: समयमा सिफारिस पत्र नलिने फर्म/कम्पनीलाई महासंघबाट दिइने सेवा सुविधाबाट बञ्चित गरिनेछ। साथै महासंघको विधान दफा २५क. र आचार संहिता बमोजिम कारवाही हुनेछ।
३. फारम: नवीकरणको फारम महासंघको वेबसाइट www.fcan.org.np मा पनि उपलब्ध छ।
थप जानकारीका लागि महासंघ सचिवालय वा निर्माण व्यवसाय प्रवर्द्धन शाखा बबरमहलमा सम्पर्क गर्न सकिनेछ।

