असार २८ नेपाल ।

सुदूरपश्चिम प्रदेशको बैतडीस्थित दोगडाकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ।

गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय देउलेखले बुधबार सूचना जारी गर्दै काम कारवाहीलाई पारदर्शी, जनमुखी र प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई गर्न लागेको जनाएको छ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम २०८३ साउन ४ गते सोमबार बिहान १०:०० बजेदेखि दोगडाकेदार गाउँपालिकाको सभा हलमा हुनेछ। कार्यक्रमको सहजीकरण उदाउने मिडिया, दोगडाकेदार ३ ले गर्नेछ।

सार्वजनिक सेवाको प्रवाहमा नागरिक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सुनुवाईमा गाउँपालिकासँग सरोकार राख्ने आम दोगडाकेदारवासी, जनसमुदाय, समाजसेवी, बुद्धिजीवी, संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई उपस्थितिको लागि आग्रह गरिएको छ।

सुनुवाईमा नागरिकले गाउँपालिकाले गरेका काम, सेवा प्रवाह र विकास निर्माणका विषयमा सुझाव तथा गुनासो राख्न सक्नेछन्।

सूचनामा प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशीले हस्ताक्षर गर्नुभएको छ।