असार २३ नेपाल । वर्षा याम सँगै आउने बाढी, कटान, डुबान र चट्ट्याङको जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाले आम नगरवासीको सुरक्षाका लागि विशेष सूचना जारी गरेको छ।

नगर कार्यपालिकाको कार्यालय, शान्तिनगरले मिति २०८३/०३/२३ मा जारी गरेको सूचनामा नदी किनार, कटान प्रभावित क्षेत्र र डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मनसुनअघि के गर्ने त?
नगरपालिकाले विपद् पूर्वतयारीका लागि ४ वटा मुख्य कुरा गर्न आग्रह गरेको छ:
1. कागजात सुरक्षित: नागरिकता, जन्मदर्ता, लालपुर्जा जस्ता कागजात जलरोधक झोलामा राख्नुहोस्
2. आवश्यक सामान: खाद्यान्न, पिउने पानी, औषधि, टर्च, रेडियो, ब्याट्री र प्राथमिक उपचार सामग्री तयारी अवस्थामा राख्नुहोस्
3. घर जाँच: घरको छाना, बिजुली र ग्यासको अवस्था जाँच गरी मर्मत गर्नुहोस्
4. सम्पर्क नम्बर: परिवारका सदस्यलाई सुरक्षित स्थान र आपतकालीन सम्पर्क नम्बरको जानकारी गराउनुहोस्

विपद्को समयमा के गर्ने?
सूचनामा जिल्ला प्रशासन, सुरक्षा निकाय र नगरपालिकाले जारी गरेको निर्देशन पूर्ण रूपमा पालना गर्न भनिएको छ। साथै अनावश्यक रूपमा नदी, खोला नजान, बाढी आएको बेला खोला नतर्न र विद्युत् तथा ग्यास चुहावट देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ। अफवाहमा विश्वास नगर्न र सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन पनि आग्रह गरिएको छ।

विशेष ध्यान दिनुपर्ने को?
ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीहरूको विशेष सुरक्षा र आवश्यकतामा प्राथमिकता दिन नगरले सबैलाई भनेको छ।

आफत पर्दा कहाँ फोन गर्ने?
नगरपालिकाले आपतकालीन सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ:
• १०० – नेपाल प्रहरी
• १०१ – दमकल
• १०२ – एम्बुलेन्स
• ११४९ – विपद् उद्धार
• ११५५ – मौसम तथा बाढी
• ९८१९०२५०९४ – नगर प्रहरी
• ९८०३५८३५९६ – अर्जुनधारा रेडक्रस

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेद्वारा जारी सूचनामा “पूर्वतयारी गरौं, सुरक्षित बनौं। विपद् जोखिम न्यूनिकरण सबैको साझा जिम्मेवारी हो” भनिएको छ।