माघ ६ नेपाल ।
वर्तमान अवस्थामा नेपाली काँग्रेसले आन्तरिक लोकतन्त्रलाई बलियो बनाएर संकटको श्रृंखलाको अन्त्य गर्नुपर्ने आवश्यकता छ। सहमति, सहकार्य र एकताको मूल मर्मलाई आत्मसात् गरी अघि बढ्नुको विकल्प छैन।
हिजोका दिनमा राष्ट्रले विभिन्न समयमा भोग्नुपरेका संकटहरूबाट पार लगाउन पार्टीभित्रको सामूहिक एकताले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको उदाहरणीय संस्कार हामीमा विद्यमान छ।
नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलले सहमति, सहकार्य र एकताको बिगुल फुक्दै देशमा लोकतान्त्रिक मूल्य र आदर्शहरूलाई उजागर गर्दै आइरहेको छ। सम्पूर्ण तरुणहरू विचलित नभई जिम्मेवारीका साथ सत्य, न्याय, शान्ति र प्रेमको मार्गबाट सबैमा सद्भाव र एकता कायम गर्दै आगामी दिनका चुनौतीहरू सामना गर्नुपर्ने आजको आवश्यकता हो।
नेपाल तरुण दल नेपालमा सामाजिक कुरीति, विकृत र कुसंस्कारहरू विरुद्ध संघर्ष गर्दै स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाज निर्माण गर्ने उद्देश्यमा दृढ छ।
अहिलेको वर्तमान परिस्थितिमा नेपाल तरुण दल राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति कटिवद्ध रहँदै आज मिति २०८२ साल माघ ६ गते आगामी फगुन २१ गते हुने आम निर्वाचनका लागि नेपाली काँग्रेसको रुख चिन्ह लिएर पार्टीद्वारा आयोजना हुने उम्मेदवार मनोनयन कार्यक्रममा सक्रिय सहभागिताका लागि नेपाल तरुण दलका केन्द्रीय सदस्य, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, नगर/गाउँ कार्यसमिति तथा वडा कार्यसमिति लगायत सम्पुर्ण तरूण साथीहरुलाई उत्साहजनक उपस्थितिका लागि निर्देशन गर्दछु। तरुण दलले आज जारी अपिल पत्रमा भनिएको छ।
