पुस २७ नेपाल ।

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ विविध कार्यक्रमहरू सहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज मिति २०८२ पौष २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको छ । शुभारम्भ कार्यक्रममा गोरखा जिल्ला न्यायाधीश, जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख, पश्चिम पृतनाका पृतनापति, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झन्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ । पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहका बिच समापन हुनेछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछ । त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भई रहेका छन् ।