पुस २७ नेपाल ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं। यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेका छौं। स-साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुऱ्याएको योगदान महत्त्वपूर्ण रहेको देखिन्छ ।

पृथ्वीनारायण शाहलाई सम्झदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ। उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेका छन् जसबाट सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मार्गदर्शन लिन सकिन्छ।

अन्त्यमा, राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।