पुस २७ नेपाल ।

आज हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता तथा नेपाल एकिकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक दिन हो। यस दिनको सुखद अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरूमा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तार अभियानको शुरुवात संगै नेपालको पूर्व पश्चिम, हिमाल, पहाड र तराईमा रहेका स-साना राज्यहरुलाई एकिकरण गर्ने शिलशिला पनि शुरु भएको हो । तत्कालिक समयका हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरुप हाम्रो मातृभूमि नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र वहुधार्मिक राष्ट्रका रुपमा विश्वमा परिचित छ। वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणामले एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा परिचित हाम्रो प्रीय मातृभुमि नेपाल ०६२-६३ को जनक्रान्ति, संविधान सभा, नयाँ संविधानको निर्माण र नयाँ निर्वाचनबाट दुईतिहाइ बहुमतको निर्माण जस्ता ऐतिहासिक उपलब्धिका बावजुद त्यसपछि बनेका सरकारहरूले लिएका गलत नीति, विचार र कार्यक्रमहरूका कारणले हामीले भदौ २३ गतेको आन्दोलन र २४ गतेको महाविध्वंश समेत भोग्नुपर्यो । त्यसले गर्दा आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई अस्थिर बनाउन योजनाबद्ध ढंगले लागेका छन। उनीहरु मुलुकलाई फेरि पनि हिंसा र विध्वंसतिर लान खोज्दैछन। यही बेला देशमा आम निर्वाचन आइरहेको छ ।

आदरणीय जनसमुदायहरू ! हामी विद्यमान परिस्थितिको गम्भीरतालाई बुझौं, बदलिंदो अन्तर्राष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको आमुल परिवर्तनको आकांक्षालाई बुझौं र आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूलाई विजयी गराऔं। मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै, सामाजिक-आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरुलाई थप सुदृढ बनाउदै समाजवादको बाटोमा दृढतापूर्वक हिडौं। तब मात्र नेपाल एकिकरणका योद्धाहरु, हाम्रा वीर पूर्खाहरु, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकांक्षा अनुरुपको “समृद्ध नेपाल र सुखी नेपाली” को सपना साकार पार्न सक्छौं । नेपाली कम्युनिस्ट पार्टीका बरिस्ठ नेत्ता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल द्वारा हस्ताक्षर भएको शुभकामना सन्देश पत्रमा भनिएको छ।