पुस २१ नेपाल ।
दक्षिण कोरियाको न्याय मन्त्रालयले दक्षिण कोरियामा अवैधानिक रूपमा बसोबास गर्दै आएका विदेशीहरूलाई लक्षित गरी २८ फेब्रुअरी २०२६ सम्मका लागि विशेष स्वैच्छिक प्रस्थान प्रणाली लागु गर्दै उक्त समयावधिभित्र स्वैच्छिक रूपमा कोरियाबाट फर्किने अवैधानिक बासिन्दाहरूका लागि जरिवाना छुट गर्नुका साथै प्रवेश प्रतिवन्ध निलम्बन गरेको व्यहोरा सम्बन्धित सबैको नेपाली राजदुतावास सिओलले सूचना जारी गरेको छ।
त्यहाँको न्याय मन्त्रालयका अनुसार उक्त योजनामा अवैधानिक रूपमा दक्षिण कोरिया प्रवेश गरेका, नक्कली राहदानीमा रहेका, आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति, यसअघिका deportation order पालना नगर्ने व्यक्ति र सन् २०२५ डिसेम्बर १ पछि अवैधानिक भएका व्यक्तिहरू सहभागी हुन नसक्ने व्यहोरा जानकारी गराउँदै उक्त अवस्थाबाहेकका अन्य अवैधानिक रूपमा बसोबास गरिरहेका सम्बन्धित सबै नेपाली नागरिकहरूलाई अवसरको सदुपयोग गर्न र नेपाल फर्किन राजदूतावास अपिल गरेको छ ।
स्वैच्छिक रूपमा कोरियाबाट नेपाल फर्किन चाहने व्यक्तिले राहदानी र हवाईटिकट पेस गर्नुपर्ने र आफू रहेको स्थाननजिकको अध्यागमन कार्यालयमा स्वयं उपस्थित भई फर्किन चाहेको दिनभन्दा ३ दिन (सार्वजनिक बिदाबाहेक) अगाडि वा सार्वजनिक बिदासहित कम्तीमा १५ दिन अगाडि स्वैच्छिक प्रस्थान रिपोर्ट फाराम (Voluntary Departure Report Form) बुझाउनुपर्ने नेपाली राजदुतावासले जनाएको छ ।
उक्त स्वैच्छिक प्रस्थान रिपोर्ट फाराम (Voluntary Departure Report Form) अनलाईन (http://www.hikorea.go.kr) समेत पेस गर्न सकिने र यसरी अनलाइन पेस गरेको खण्डमा आफ्नो प्रस्थान समयभन्दा ४ घण्टाअगाडि final confirmation का लागि विमानस्थलस्थित अध्यागमन कार्यालयमा सम्पर्क गर्नुपर्ने व्यहोरा जानकारीका लागि अनुरोध गरेको छ ।
थप जानकारी आवश्यक भएमा दक्षिण कोरियाको न्याय मन्त्रालयअन्तर्गतको अध्यागमन सूचना केन्द्रमा १३४५ नं. मा सम्पर्क गर्न सकिने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि नेपाली राजदुतावास सिओलले जानकारी दिएको छ ।

