पुस १९ नेपाली ।
हालका दिनहरुमा फेसबुक, टिकटक, भाइवर, युटुव तथा हाट्सएप लगायतका सामाजिक सञ्जालहरुवाट युरोपका आकर्षक मुलुक, तलब र काम सहितका प्रलोभनहरु देखाई वैदेशिक रोजगारीका विज्ञापनहरु गर्ने, पैसा उठाउने तथा पासपोर्टहरु संकलन गरेर झुलाउने, E-7 भिसामा कोरिया पठाइदिन्छु भनी गैरकानुनी गतिविधिमा विभिन्न कन्सलटेन्सी, संस्था एवं व्यक्तिहरु संलग्न भएको गुनासो वैदेशिक रोजगार विभागले प्राप्त गरेर ध्यानाकर्षण भएको जनाएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ ले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानको लागि खुल्ला गरेका मुलुकहरुको हकमा विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्था बाहेकले सो सम्बन्धी कार्य गर्न नपाउने समेत कानूनी व्यवस्था रहेको बिभागले जनाएको छ।
कानून विपरित अनधिकृत संस्था/व्यक्ति मार्फत श्रम स्वीकृति नलिई, अर्को मुलुकको विमानस्थल प्रयोग गरी, गलत सूचना प्रवाह गर्दै भ्रम सिर्जना गरेर विदेश पठाउने र जाने कार्य गैरकानूनी भएकोले बैदेशिक रोजगारीमा जाँदा श्रमिकहरु विभिन्न जोखिममा पर्न सक्ने, मानव तस्करी, श्रम शोषण र दुर्व्यवहारको खतरा झनै बढ्ने देखिन्छ बिभागले भनेको छ।
वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र भरपर्दो बनाउन वैदेशिक रोजगार ऐन, २०६४ ले तोके बमोजिमका तालिम/ओरेन्टेसन, विमा, सामाजिक सुरक्षा र स्वास्थ्य चेकजाँच समेत अनिवार्य रुपमा गरेर वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिएको एकिन गरी नेपालकै विमानस्थलको प्रयोग गरेर जानका लागि बिभागले आह्वान गरेको छ।
गैरकानूनी रुपमा जाने वा पठाउने वा सामाजिक सञ्जालहरुमा जथाभावी विज्ञापन गर्ने जो कोही माथि विभागवाट अनुगमन एवं अनुसन्धान गरी कानून बमोजिम कारबाही गरिनेछ बिभागले चेतावनी दिएको छ।
कुनै पनि संस्था वा व्यक्तिले सामाजिक सञ्जालवाट अनाधिकृत तवरले वैदेशिक रोजगारको लागि गरेका प्रचार र सुचनाको आधिकारिकताका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभाग वा अन्तर्गतका सरकारी निकायवाट जाँच गरी अनलाईन श्रम स्वीकृति भए पश्चात मात्र आर्थिक कारोवार गर्नुहुन समेत समेत वैदेशिक रोजगार बिभागले प्रेस बिज्ञप्ति जारी गरेर सम्बन्धित सवैलाई अनुरोध गरेको छ।
