पुस १९ नेपाल ।
जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात आदिले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघा, खोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, शीतांग / हाइपोथर्मियाका लक्षणहरू भएका बिरामीहरू बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अझ पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्क लगायत अंगहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सर जस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढाउने गरेको, जाडोयाममा विशेषतः बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने हुनाले चिसोका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन धूवाँ-धूलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन-सी पर्याप्त मात्रामा भएका फलफूल (सुन्तला, कागती, अमला), मौसम अनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन मन्त्रालय अनुरोध गरेको छ।
चिसोका कारण देखिने समस्याहरू रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिन पनि मन्त्रालय सबैलाई अनुरोध गरेको छ।
जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटनाहरू भइरहेका छन्। राम्ररी हावापास नभएको कोठामा यस्ता उपकरण प्रयोग गर्दा गन्ध, रंग र स्वादरहित विषाक्त कार्बन मोनोअक्साइड ग्यास जम्मा भई गम्भीर स्वास्थ्य समस्या वा ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा ताप्ने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख र गिजर बाथरुम बाहिर जडान गर्न मन्त्रालय आग्रह गर्दछ। यस्ता उपकरण प्रयोग गर्दा टाउको दुखे, रिङ्गटा चल्ने जस्ता लक्षण देखिएमा तुरुन्त हावा आवत-जावत गराउन वा खुला ठाउँमा जानुहुन, साथै समस्या रहिरहे वा बढीरहेमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

