पुस १३ नेपाल ।

संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत भएको छ। उक्त कार्यक्रम आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ।

सो कार्यक्रम अनुसार मिति २०८२ पुस १९ देखि २०८२ माघ १८ गतेसम्म अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी (प्रदेश/जिल्ला निर्वाचन अधिकारी) को कार्यालयमा पठाउनु पर्ने निर्वाचन आयोगले जनाएको छ।

प्राप्त विवरण बमोजिम प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउनका लागि विवरण प्रकाशन गर्ने, संशोधित अस्थायी नामावली प्रकाशन गर्ने, दावी विरोधका लागि निवेदन लिने तथा सो उपर जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने लगायतका क्रियाकलापसहित अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन हुनेछ।

अस्थायी मतदाता नामवालीसम्बन्धी कार्यविधि, २०८२ को दफा ८ बमोजिम जिल्ला अस्थायी मतदाता नामावली सङ्कलन तथा व्यवस्थापन समितिको निर्णयवाट अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन हुनेछ।

कार्यक्रम अन्तर्गत आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा र कैदी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेका वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रममा बसेका व्यक्तिहरू एवम् संवैधानिक निकायका पदाधिकारीको नामावली सङ्कलन गरिने निर्वाचन आयोग नेपालले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।