पुस १२ नेपाल ।
निर्वाचन आयोगले संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी मिति २०८२ कात्तिक ३० गतेको नेपाल राजपत्रमा प्रकाशित भईसकेको जनएको छ।
उक्त निर्वाचन कार्यक्रम बमोजिम राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची मिति २०८२ पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्म मात्र कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको व्यहोरा सम्बन्धित सबै सरोकारवालालाई निर्वाचन आयोगले अवगत गराएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ।
साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने व्यहोरा समेत निर्वाचन आयोगले प्रेस बिज्ञप्ति जारी गरेर अनुरोध गरेको छ।

