पुस ८ नेपाल।
नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधान बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउने व्यवस्था भएको जनाएको छ।
यस अघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम संख्या नभएको फारम समेत वितरण भएको जानकारी प्राप्त भएकोले पुनः क्रम संख्या नम्वर सहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाएको काङ्ग्रेसले जनाएको छ।
पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार नविकरण र नयाँ क्रियाशील सदस्यता फारम वितरण प्रक्रिया र मापदण्ड लगायतका विषयमा जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइ सकेको समेत काङ्ग्रेसले जनाएको छ।
नयाँ क्रियाशील सदस्यता फारम वितरण गर्दा जिल्ला कार्यसमितिको तर्फबाट प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगरपालिका कार्यसमिति र वडा कार्यसमितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न गराउन का काङ्ग्रेसले निर्देशन गरेको छ।
नेपाली कांग्रेसको विधानको धारा ४ (८) (क) (१) बमोजिम नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा परेका उजुरीको प्रारम्भिक छानवीन र निर्णय गर्ने कार्य जिल्लास्थित क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समितिको रहेकोले तहगत रुपमा सदस्यता वितरणको सहिजकरण, अनुगमन गर्दै कतै समस्या वा उजुरी गुनासो आएमा सो उपर छानवीन गरी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार समयतालिका भित्रै निर्णय गरी केन्द्रमा जानकारी गराउन समेत निर्देशन दिएको छ।
नयाँ क्रियाशील सदस्यता १५ औं महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्र अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ कृयाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन काङ्ग्रेसले परिपत्र गरेको छ।

