मंसिर १७ नेपाल । प्रधानमन्त्री शुसिला कार्की द्वारा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा शुभकामना सन्देशमा भनिएको छ: ´हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि अपाङ्गतासम्बन्धी विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। यस वर्षको लागि “Fostering disability inclusive societies for advancing social progress” अन्तर्राष्ट्रिय नारा तथा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय मूल नाराका साथ मङ्सिर १७ गते मनाउन लागिएकोमा मलाई खुसी लागेको छ। यस महत्त्वपूर्ण अवसरमा सम्पूर्ण देशवासी तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलगायत सबै सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु`।

´नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका छन्। अपाङ्गता भएका व्यक्तिको आर्थिक सामाजिक अवस्था एवम् अपाङ्गताको गम्भीरताको आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई सबै अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको छ`।

´अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवम् पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको छ। दिगो विकासको लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु`।

´अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता रहेको छ। अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनः स्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने कुरामा विश्वस्त रहेको छु`।

´आजको यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्ति एवम् तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु`। प्रधानमन्त्री सुशीला कार्कीले हस्ताक्षर गरेर जारी गरेको शुभकामना सन्देश पत्रमा उल्लेख रहेको छ।