मंसिर १२ नेपाली । आज मिति २०८२ मङ्सिर १२ गते प्रधानमन्त्री श्री सुशीला कार्कीले जङ्गी अड्‌डाको निरीक्षण भ्रमण गर्नु भएको छ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रधानमन्त्री लगायत भ्रमण दललाई जङ्गी अड्डामा स्वागत गर्नु भएको छ ।

जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएको प्रधानमन्त्री समक्ष नेपाली सेनाको विविध गतिविधिहरू लगायत निर्वाचन सुरक्षा सम्बन्धी जानकारी गराइएको थियो । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीले फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षा संवेदनशीलताको विश्लेषण गरी नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरूले समन्वयात्मक ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको छ ।

कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव सुमन राज अर्याल, नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष, निमित्त रक्षा सचिव, रथीवृन्द तथा रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।