मंसिर ४, नेपाल ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले हाल राहदानी वितरणमा देखिएको ढिलाइका कारण सेवाग्राहीलाई सतर्क रहन आग्रह गर्दै एक सूचना सार्वजनिक गरेको छ।
विभागका अनुसार अन्तरिम व्यवस्थापनका क्रममा केही सेवा कटौती गर्नुपरेको र नयाँ व्यवस्थालाई लिएर सम्बन्धित निकायहरुसँग भएको सहकार्य अन्तिम चरणमा पुगेकाले आगामी १–२ हप्तामा सेवा सहज र सरल हुने अनुमान गरिएको छ।
यसबीचमा राहदानी बनाइदिने भनेर विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सक्रियता बढिरहेको विभागले जनाएको छ। ठगीमा संलग्न शंकास्पद १५ जनालाई नियन्त्रणमा लिई अनुसन्धानपछि नेपाल प्रहरीमा आवश्यक कार्यवाहीका लागि पठाइएको विभागले जानकारी दिएको छ।
विभागले कुनै पनि प्रकारको ठगी वा शंकास्पद गतिविधि देखिएमा ०१–५९७०३२५ (कार्यालय समयभित्र) वा ९८५१३५२००१ (WhatsApp—सन्देशका लागि मात्र) मा सम्पर्क गर्न तथा communication@nepalpassport.gov.np मा इमेल पठाउन आग्रह गरेको छ।
सेवाग्राहीलाई छिटो, सरल र पारदर्शी सेवा प्रदान गर्न विभाग पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी पनि सूचनामा उल्लेख गरिएको छ।

