मंसिर ३, नेपाल ।
बारा जिल्लाको सिमरामा आज भएको घटनाप्रति नेपाल सरकारको गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी घटनापछि स्थानीय प्रशासनले आवश्यक पहल गर्दै अवस्था नियन्त्रणमा ल्याई शान्ति–सुरक्षा सामान्य बनाइएको जानकारी दिएको छ।

विज्ञप्तिमा हालको सरकारले मुलुकभर शान्ति–व्यवस्था कायम गरी तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धताका साथ काम गरिरहेको उल्लेख गरिएको छ। निर्वाचनको वातावरण बनाउन सबै पक्षबीच आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्दै शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा अघि बढाउन आग्रह गरिएको छ।