२०८२ असोज २६ नेपाल । नेकपा माओवादी केन्द्रका नेत्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका छन् । कृष्ण बहादुर महरा यौन दुराचार अभियोगमा पनि पक्राउ परेका ब्यक्ति हुन् ।
´मिति २०७९/०९/१० गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनिया नागरिक राहदानी नं. EJ 6350030 वाहक LI HANSONG ले २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (Vapes) अवैध रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुदै नेपालमा ल्याउदै गरेको अवस्थामा जफत भई त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएकोमा ऐ. कार्यालयका नायव सुव्वा रेवन्त खड्का समेतले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान (सुन सहितको) ईलेक्ट्रिक सिगरेट (Vapes) मा रहेको मूल्य रु.८,५५,२८,३७४/- (आठ करोड पचपन्न लाख अठ्ठाईस हजार तीन सय चौहत्तर) बराबरको सुन वेचविखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएकोले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेका रविचन महराको छोरा रोल्पा जिल्ला साविक लिवाङ गा.वि.स. वडा नं.७ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २६ खुमलटार बस्ने बर्ष ६८ को कृष्ण बहादुर महरालाई आज मिति २०८२/०६/२६ गते पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको नेपाल प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ्` । (क्रान्ति)

कृष्णबहादुर महरा
सचिवालय सदस्य
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कमरेड कृष्णबहादुर महरा पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं. २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा निम्न वर्गीय किसान परिवारमा जन्मिनुभयो । उहाँले बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्णपछि विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको थियो ।
वि.सं. २०३५–०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय रहनुभएका उहाँ २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि हुनहुन्थ्यो । वि.सं. २०३९ देखि २०४१ सम्म अनेरास्ववियुको आठौंँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष र उपाध्यक्ष रहनुभयो । उहाँ २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पाको मन्त्री र २०३६ देखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षक समेत हुनुहुन्थ्यो ।
वि.सं. २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । वहाँ २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता रहनुभयो । पार्टी संगठनमा उहाँ २०५१ मा नेकपा (माओवादी)को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, २०५३ सालमा केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्यूरो सदस्य हुनुभयो । वि.सं. २०६१ मा नेकपा(माओवादी) पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएका महरा वि.सं. २०६२ मा स्थायी समिति सदस्य र २०६२ मा पार्टी सचिवालय सदस्य हुनभएको थियो ।
महान जनयुद्धकै क्रममा २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक र २०६० मा तत्कालीन सरकारसँगको दोस्रो वार्ता टोली सदस्य तथा प्रवक्ताको जिम्मेवारी वहाँले निर्वाह गर्नुभयो । वि.सं. २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक समेत हुनुभयो ।
वि.सं. २०६४ चैतमा सम्पन्न संविधानसभा सदस्यको निर्वाचनबाट दाङ ३ बाट निर्वाचित महरा २०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता हुनुभयो ।संविधान लेखनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । प्रतिनिधि सभा निर्वाचन २०७३ मा वहाँ पुनः निर्वाचित भई सभामुखको भूमिकामा रहनुभयो ।
उहाँले उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, गृह एवम् सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभयो । यसैगरी अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य समेत हुनुहुन्थ्यो ।
उहाँले भारत, चीन, बंगलादेश, थाइल्याण्ड, जापान, प्रजग कोरिया, मलेसिया, सिंगापुर, हङकङ, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिकालगायत मुलुक भ्रमण गर्नुभएको छ।
