२०८१ फागुन २९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्व, २०८१ को अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा भनिएको छ:
´नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याए पछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राती चीर दाह गरेपछि समापन हुन्छ । रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ । होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको छ । यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो ।
होली पर्व असत्यमाथि सत्यको, अन्याय माथि न्यायको, दूराचार माथि सदाचारको र अधर्म माथि धर्मको विजय भएको खुशियालीमा मनाइने हुँदा यो पर्वले समस्त नेपालीहरूबीच रिस राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।
अन्त्यमा, होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।जय नेपाल` !