२०८१ फागुन २० काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय द्वारा प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ।´कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासन सम्बन्धी कार्यलाइ सुगम, सरल र थप पारदर्शी बनाउनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८१/११/१९ गते देखि कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS (https://camis.ocr.gov.np/) का सबै मोडयूलहरूलाइ पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ। प्रयोगकर्ताहरूवाट प्राप्त सुझावहरूलाइ समावेश गरी परिमार्जित र परिस्कृत रूपमा कार्यान्वयनमा ल्याइएकोले यसवाट कम्पनी प्रशासन सम्बन्धी कामकारवाहीहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट सहज र शीघ्र सम्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

परिमार्जित CAMIS प्रणालीका विशेषताहरूः

१. भौतिक रूपमा कार्यालयमा उपस्थित नभईकन कम्पनी दर्ता देखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरूमा कम्पनीहरूले CAMIS प्रणालीवाट कार्यालयमा आवेदन दिन सक्ने ।

२. प्राप्त आवेदनहरू CAMIS प्रणालीवाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने ।

३. नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहवाट नै टुङ्गो लगाइने ।

४. सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखत लगायत भौतिक उपस्थितिवाट चेकजाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरू वाहेक अन्य सवै आवेदनहरू अनलाइन प्रणालीवाटै टुङ्गो लगाइ सो सम्बन्धी पत्र, विवरण लगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रूपमा पठाइने ।

५. आवेदन पेश भएपश्चात कम्पनी रजिट्रार कार्यालयमा सो आवेदनका लागि तोकिएको कर्मचारी र तत्पश्चात कुन तहमा सो आवेदन पेश भएको छ, सो विषयमा अनलाइन प्रणालीवाटै सम्बन्धित कम्पनीलाइ सूचना दिइने ।

६. यसपूर्व सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरू सम्बन्धित कम्पनीले CAMIS प्रणालीमा नै हेर्न सक्ने ।

७. नागरिकता लगायत व्यक्तिगत विवरणका लागि राष्ट्रिय परिचयपत्र प्रणाली; करदाताको प्यान नम्बर लिने लगायतका कार्यका लागि आन्तरिक राजस्व सूचना प्रणाली; लेखापरीक्षकको UDIN लगायतका विवरणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रणालीसँग आवद्ध गरी कम्पनीले सम्बन्धित विवरण प्राप्त गर्नसक्ने प्रावधान रहेको । यसैगरी अन्य सरकारी प्रणालीहरूसँग आवद्ध गरी सूचनाको सहज प्राप्ति र भेरिफिकेशनको प्रवन्ध गर्दै लगिने ।

यस प्रणालीको कार्यान्वयनवाट कम्पनी प्रशासन सम्बन्धी कामका लागि निरन्तर कम्पनी रजिष्ट्रारको कार्यालयमा धाउनु पर्ने विद्यमान अवस्था हटाई सेवाग्राहीहरूको अमूल्य समयको सदुपयोगको अवसर प्रदान गरिएको छ। यस प्रणालीको सदुपयोग गरी आफ्नो कम्पनी प्रशासन सँग सम्बन्धित काम कारवाही अनलाइन प्रणाली मार्फत सम्पादन गर्नुहुन एवम् प्रणाली सञ्चालन गर्दा आइपर्ने समस्या समाधानका लागि तथा प्रणाली सुधारका लागि पृष्ठपोषण समेत प्रदान गर्नु हुन सबै कम्पनीका सञ्चालक तथा शेयरधनी महानुभावहरूमा अनुरोध छ`। (देवी प्रसाद सुवेदी) उपरजिष्ट्रार।

(क्रान्ति)